YOUR ADS HERE
जनकपुरधाम : कठ्यांग्रिदो जाडोमा सालनालसहित फालिएका दुई नवजात छोरीको स्थानीयको सहयोगमा प्रहरीले उद्दार गरेको छ। धनुषा र महोत्तरीमा प्रहरीले उद्धार गरिएका नवजात बालिकाहरुलाई जनकपुरस्थित सद्गुरु कबिर बालबात्सल्य आश्रममा बुझाइएको छ। खोपी गाविस महोत्तरीको बैरिया टोलको पोखरी डिल र धनुषाको महेन्द्रनगर नजिकै बाँसघारीमा फालिएका नवजात बालिकाहरुलाई स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

चिसो लागेर गम्भीर अवस्थामा रहेका बालिकाहरुलाई जनकपुर अञ्चल अस्पतालमा उपचार गराई अनाथआश्रमको जिम्मा लगाइएको सञ्चालक सन्त आलोकले जानकारी गराए। पछिल्लो समयमा छोरी जन्माएर फाल्ने प्रवृत्ति बढ्दै गएको छ। हालसम्म आश्रममा ६ वटा फालिएका छोरीहरुको पालनपोषण गरिराखेको आलोकले बताए। छोराको आशमा छोरी जन्मेका र अनैतिक सम्बन्धबाट जन्मिएका बच्चाहरुलाई मर्नका लागि फाल्ने गरिएको आलोकले बताए।

६ वर्षदेखि संचालित आश्रममा हालसम्म १६ जना बेवारिसे बालबालिकाहरु ल्याइएको छ। जसमा ४ जना घरपरिवारमा फिर्ता भइसकेका छन्। ४ को कुपोषणका कारण मृत्यु भईसकेको आलोकले बताए । हाल आश्रममा दुई छोरा सहित ८ जना बालबालिकाहरुको लालनपालन भईरहेको छ। 

बालबालिकाहरुलाई जन्म दिएर फाल्नेहरुलाई कारबाही गर्न प्रशासनले तदारुकता नदेखाएको कारण यस्तो प्रवृत्ति बढ्दै गएको आश्रमकी सञ्चालिका मिरा दिदीले बताईन्। बच्चा भेटाएकै बेला गाउँमा सोधपुछ गर्दा पत्ता लाग्ने अवस्थामा प्रशासनिक निकायले ध्यानै नदिएर बच्चा आफूहरुलाई जिम्मा लगाई पन्छिने गरेको मिराको भनाइ छ। 
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK