|| PLACE YOUR ADVERTISEMENT HERE ||

पूर्वी रुकुमका डाँडाकाँडा, गाउँबस्ती र मौलिक जीवनशैली अब प्रेम र वियोगको एउटा भावुक कथाको पृष्ठभूमि बनेका छन्। शान्तिश्री परियार र रबिन भुसालको स्वरमा तयार भएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ, जसले गीतलाई केवल दृश्यमा उतार्नेभन्दा अगाडि बढेर कथात्मक शैलीमा प्रेम, बिछोड र पीडालाई प्रस्तुत गरेको छ।

बिग नेपाली फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको म्युजिकल फिल्मको मुख्य आकर्षण पूर्वी रुकुमको वास्तविक परिवेश हो। निर्माण पक्षका अनुसार यसको छायांकन पाँचभन्दा बढी गाउँमा करिब सात दिन लगाएर गरिएको थियो। गाउँका घर, उकाली–ओराली, डाँडाकाँडा र प्राकृतिक दृश्यलाई कथाको भावसँगै जोडिएको छ।

‘पिर मनैमा’ले प्रेममा परेको एक जोडीको कथा मात्र सुनाउँदैन। यसले प्रेमसँगै आउने बिछोड, सम्झना र गहिरो पीडालाई दृश्य कथामार्फत अघि बढाउँछ। मुख्य भूमिकामा विशाल नेपाली र गीता ढुंगाना देखिएका छन्। उनीहरूको प्रेम र विछोडलाई केन्द्रमा राख्दै कथा अगाडि बढेको छ।

म्युजिकल फिल्ममा रबिन भुसाल, अमृत सुनार र खुम भण्डारीले समेत सहायक भूमिकामा अभिनय गरेका छन्।
गीतमा शान्तिश्री परियार र रबिन भुसालको स्वर छ भने शब्द र संगीत पनि रबिनकै हो। गीतको भाव र दृश्य कथालाई एकअर्कासँग जोड्ने प्रयासले ‘पिर मनैमा’लाई परम्परागत म्युजिक भिडियोभन्दा कथामुखी बनाएको देखिन्छ।

म्युजिकल फिल्मको निर्देशन विशाल नेपालीले गरेका हुन् भने छायांकन विवेक विकले गरेका छन्।
कथाले प्रेमलाई केवल सँगै रहँदासम्म सीमित भावनाका रूपमा नभई बिछोडपछि पनि मानिसभित्र बाँकी रहने सम्बन्धका रूपमा चित्रण गरेको छ। यही भावलाई पूर्वी रुकुमको शान्त प्राकृतिक परिवेश, पात्रहरूको पीडा र सम्झनासँग मिसाएर प्रस्तुत गरिएको छ।

विशेषगरी वास्तविक लोकेसनमा गरिएको छायांकनले ‘पिर मनैमा’लाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ। नेपाली संगीतका भिडियोहरू काठमाडौं र आसपासका परिचित लोकेसनमा केन्द्रित भइरहेको समयमा पूर्वी रुकुमका गाउँ र भूगोललाई कथाको अभिन्न हिस्सा बनाउनु यस म्युजिकल फिल्मको अर्को उल्लेखनीय पक्ष बनेको छ।

|| PLACE YOUR ADVERTISEMENT HERE ||