YOUR ADS HERE
तनहुँको पुर्कोट-५ घलेडाँडास्थित सुकुम्बासी जग्गामा बस्दै आएकी ९१ वर्षीया झालुमाया गुरुङ ओछ्यानमा थलिएकी ४९ वर्षीया छोरी लाटी गुरुङको स्याहार गर्दै। करिब ३० वर्षअघि घरमुली बलबहादुरको मृत्यु भएपछि आमाछोरी बेसहारा बनेका थिए । तस्बिर : पूर्ण बिके/कान्तिपुर 
पुर्कोट (तनहुँ), मंसिर ७ - उमेर घर्किसकेकाले पुर्कोट ५, घलेडाँडाकी ९१ वषीर्या झालुमाया गुरुङले राम्रोसँग देख्न र सुन्न सक्दिनन्। सन्तानको सहारामा धर्मकर्म गरेर बस्नुपर्ने बेला भए पनि झालुमाया भने बुढ्यौलीमा पनि दिनरात बिरामी छोरी स्याहार्दै आएकी छन्। परिवारमा अरू कोही सहारा नभएकाले उनले नै वर्षौंदेखि ४८ वर्षीया छोरी लाटीको स्याहारसुसार गर्नुपरेको हो।

 'बुढेसकालको सहारा बन्छे भनेको छोरी आफैं थलिन पुगी,' १० वर्षदेखि छोरीको हेरचाह गर्दै आएकी उनले दुःखेसो पोखिन्, 'ओछ्यानमा नै गुहुमुत गर्छे। सकिनसकी सफा गर्दिन्छु।'छोरीको चिन्ता र मायाले गर्दा उनले रातभर नसुती उठेर नाडी छाम्ने र दिसापिसाब छ कि भनेर हेर्ने गरेको बताइन्।

 सानैदेखि छोरी कान नसुन्ने भएपछि १० वर्षदेखि हिँड्डुलसमेत गर्न नसक्ने गरी थला परेकी उनले बताइन् । 'खर्च नहुँदा छोरीलाई अस्पताल लैजान सकेकी छैन,' उनले बाध्यता सुनाइन्। गाविसको कार्यालयले छोरीलाई पूर्ण अशक्त भत्ता र आफूलाई पनि वृद्ध भत्ता दिएकाले त्यसैले गुजारा गर्दै आएको उनले बताइन्। झालुमायाको आफ्नो नाममा जग्गा छैन । सुकुम्बासी जग्गामा उनी बस्दै आएकी छन् । उनी खरले छाएको सानो झुप्रोमा बस्दै आएकी छन्। नजिकै छिमेकीको घर पनि छैन । श्रीमान् बलबहादुरको करिब ३० वर्षअघि मृत्यु भएपछि आमाछोरी बेसहारा बनेका छन्। खानेकुरा नहुँदा धेरै पटक भोकै सुतेको त कहिले मागेर खोले खाएर सास धानेको उनले बताइन्।

आफू बिरामी हुँदासमेत छोरीको स्याहार गर्नुपर्ने भएकाले आराम गर्न नपाइने झालुमायाले बताइन् । 'छोरीको चिन्ताले रातिसमेत राम्रोसँग निद्रा पर्दैन,' उनले भनिन्, 'पोसिलो खानेकुरा खुवाउन पाए तगि्रन्थी कि भन्ने लाग्छ । तर घरमा बिहान बेलुकी खाने खर्चसमेत नहुने हामीले कसरी पोसिलो खानेकुरा जुटाउने ?' छोरी थलिएपछि आफ्नो दुःख देखेर ६० वर्षीय एक्ला भाइ रामबहादुरसँगै बसेर खाना पकाउने र दाउरा जुटाउने काममा सघाएको बताइन्। रामबहादुरले दिदी झालुमाया बाहेक आफ्ना आफन्त कोही नभएको बताए।

तनहुँको बन्दीपुरमा बसेर धेरै वर्ष मजुदरी गरेका उनले श्रीमतीले छाडेपछि एक्लो भएको बताए। उनीहरूको दयनीय अवस्था देखेपछि आफूले पूर्ण अपाङ्ग र वृद्वा भत्ता उपलब्ध गराउन पहल गरिदिएको पुर्कोट गाविस सचिव चामनारायण श्रेष्ठले बताए। सुविधा भएको वृद्धाश्रममा राखेमा दुवैको भलाइ हुने उनले बताए। 'वृद्धा झालुमायाले छोरीको स्याहार गरेको देख्दा जोकोहीको पनि मन भक्कानिएर आउँछ,' श्रेष्ठले भने, 'सबैले सक्दो सहयोग गरे यो दुःखबाट पार पाउँथेँ।'
 (ई - कान्तिपुर डट कम बाट साभार गरिएको)
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK