|| PLACE YOUR ADVERTISEMENT HERE ||

लोक प्रिय निर्देशक स्व. आलोक नेम्बाङले गत कात्तिक २० गते आत्महत्या गर्नुअघि निर्देशन गरेको एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका सरु पराजुलीको नयाँ एल्बम 'नमन' को 'आए धेरै जोवनमा भने जस्तो तिमी, रोजेकी छु यो मनले सबै बुझ्ने तिमी...' गीतको म्युजिक भिडियो कान्तिपुर टेलिभिजनको 'कल कान्तिपुर' मार्फत प्रिमियर गरिएको हो।

आत्महत्या गर्नुभन्दा करिव एक महिनाअघि ललितपुरका विभिन्न आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा गायक युवराज चौलागाईं, गायिका नन्दिता केसी तथा मोडल करीना भट्टराईले अभिनय गरेका छन्।

भिडियोमा युवराज र नन्दिताले श्रीमान् / श्रीमतीको तथा करीनाले छोरीको भूमिका निर्वाह गरेकी छिन्। गायिका पराजुलीका श्रीमान् गीतकार शिव चौलागाईंको शब्द तथा अम्बर सुब्बाको संगीतको यो गीतको भिडियोमा निर्देशक नेम्बाङले नन्दिता र करीनाको नृत्यको कोरियोग्राफी समेत गरेका थिए। हरि हुमागाईंले छायांकन गरेको उक्त भिडियोको सम्पादन प्रकाश तुलाधरले गरेका हुन्।

 यसअघि सुरभी तथा नमन गरी दुई वटा एकल एल्बम तथा थुप्रै कलेक्सनमा स्वर दिइसकेकी गायिका सरु पराजुलीले निर्देशक नेम्बाङसंग पहिलो पटक काम गरेकी हुन्। 'मेरो गीतको म्युजिक भिडियो पहिलो पटक हेर्दा निर्देशक नेम्बाङको अनुहार मात्र आँखामा आइरह्यो, हाल सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेकी गायिका पराजुलीका अनुसार नेम्बाङले उक्त भिडियोमा प्रसस्त मेहनत गरेका थिए।

लोक, आधुनिक, फिल्मी, नेवारी, राष्ट्रिय, तीज गीत, विज्ञापन जिंगलमा समेत स्वर दिइसकेकी गायिका पराजुलीले निर्देशक नेम्बाङको काम गर्ने शैली तथा सिर्जनशीलता प्रसंसा योग्य रहेको बताएकी छिन्। गायिका पराजुली भन्छिन् 'उहाँसंग काम गर्ने मौका पाएकोमा धेरै खुशी छु तर उहाँको निधनले असाध्यै दुःखी बनाएको छ।'

|| PLACE YOUR ADVERTISEMENT HERE ||